नियम २६
असक्षमताको प्रतिशत निर्धारण
(१) कुनै श्रमिक कार्यस्थलमा काम गर्दा दुर्घटनामा परी अङ्गभङ्ग भर्इ काम गर्न असक्षम भएमा त्यस्तो श्रमिकले त्यसरी दुर्घटनामा परी उपचार गराउँदा वा अस्पतालबाट डिस्चार्ज भएको मितिले एक वर्षभित्र असक्षमताको प्रतिशत निर्धारणको लागि कार्यालयमा निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम कसैको निवेदन परेमा कार्यालयले त्यस्तो श्रमिकलार्इ निजको असक्षमताको प्रतिशत निर्धारणको लागि मन्त्रालयले तोकेको नेपाल सरकारबाट मान्यता प्राप्त अस्पताल, स्वास्थ्य संस्था वा नेपाल सरकारबाट गठित मेडिकल बोर्डमा लेखी पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम कार्यालयबाट कुनै श्रमिकको असक्षमताको प्रतिशत निर्धारणको लागि लेखी आएमा सम्बन्धित अस्पताल, स्वास्थ्य संस्था वा मेडिकल बोर्डले अनुसूची-६ बमोजिम त्यस्तो श्रमिकको असक्षमता प्रतिशत निर्धारण गर्नु पर्नेछ।
(४) उपनियम (२) बमोजिम असक्षमता प्रतिशत निर्धारण गरिएको कुनै श्रमिकलार्इ क्षतिपूर्ति दिँदा ऐनको दफा ५५ को उपदफा (१) बमोजिमको रकमलार्इ शतप्रतिशत असक्षमता भए बापत पाउने क्षतिपूर्ति रकम मानी सोही आधारमा सम्बन्धित बीमा कम्पनीले क्षतिपूर्ति दिनु पर्नेछ।